काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।
आइतबार पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई गैरकानुनी हिसाबले पक्राउ गरेपछि अवस्था बुझ्न पुगेको आयोगको टोलीलाई बेवास्ता गरेका खड्कालाई आयोगले मंगलबार उपस्थित हुन पत्र काटेको हो। प्रवक्ता टिकाराम पोखरेलका अनुसार बिहान ११ः३० बजे उनलाई उपस्थित हुन भनिएको छ।
आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोली राणालाई भेट्न टेकु कार्यालय पुगेर एक घण्टा कुर्दा पनि गेटमै रोकिएका थिए। टोलीलाई भित्र छिर्न नदिएपछि फर्किएको थियो।
आयोगले विज्ञप्तिमार्फत आयोगले पाएको संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आग्रह गरेको थियो। त्यस्ता अधिकारीलाई कारबाहीको माग गरेको आयोग आफैँले बन्दीलाई भेट्न नदिएको विषयमा सोधपुछ गर्न लागेको हो।








