काठमाडौँ – असोज ८ गतेयता परेको वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटनामा २७ जनाको मृत्यु भएको छ। सात जना घाइते र चार जना सम्पर्कविहीन छन्। यस अवधिका ५१३ घटनाबाट एक हजार ६५ परिवार प्रभावित भएका छन्।
सरकारका अनुसार २२५ घरमा पूर्ण र १३७ घरमा आंशिक क्षति पुगेको छ। २७ गोठ र ११४ पशुचौपायामा पनि क्षति भएको छ। प्रभावित नागरिकको सुरक्षित बसोबास र क्षतिग्रस्त पूर्वाधार मर्मतमा सम्बन्धित निकाय परिचालन गरिएको सरकारले जनाएको छ।
बाढीपहिरोले देशभरका राजमार्ग र सडकका १४७ स्थानमा क्षति पुर्याएकोमा १२५ स्थान मर्मतपछि सञ्चालनमा ल्याइएको छ। पृथ्वी राजमार्गका पहिरो पन्छाएर तथा नारायणगढ-मुग्लिन सडकको सिमलताल नजिक भासिएको भाग मर्मत गरेर एकतर्फी यातायात चलाइएको छ।
बिपी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउने काम जारी छ। थप क्षति नभए मंगलबार साँझसम्म सञ्चालनमा ल्याउने सरकारको अपेक्षा छ।
कालीगण्डकी करिडोरका बेनी-जोमसोम, पाल्पा, बागलुङ र नवलपरासी खण्डमा पहिरो तथा सडक र पुलको पहुँचमार्गमा क्षति पुगेको छ। पूरै सडक खुल्न तीन दिनभन्दा बढी लाग्ने प्रारम्भिक आकलन छ। बेँसीसहर-चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब तीन दिन लाग्ने अनुमान गरिएको छ। भालुवाङ-चकचके-लिवाङ सडकमा भने पहिरो पन्छाएर यातायात खुलाइएको छ।
वर्षाका कारण विभिन्न विद्युत् कोरिडोरमा गरी एक हजार १३ दशमलव दुई मेगावाट बराबरको आपूर्ति अवरुद्ध भएको सरकारको विवरण छ। सेती–मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाटका विद्युत् केन्द्र सञ्चालनमा आएका छन्।
१४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास जारी छ। दूरसञ्चारतर्फ सेवा विच्छेद भएका नेपाल टेलिकमका एक हजार १३२ टावरमध्ये ७८२ र एनसेलका १६२ मध्ये १०५ नेटवर्क पुनः सञ्चालनमा ल्याइएको छ।
नारायणी, सप्तकोशी र तिनाउ नदीको बाढीबाट डुबानमा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सारिएको सरकारले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले मौसमजन्य जोखिम अझै कायम रहेकाले सतर्क रहन आग्रह गरेका छन्।








