काठमाडौं– दसैं, तिहार र छठमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षित र सहज यातायातको व्यवस्था गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ।
सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन थप्न, तोकिएका बसपार्कबाटै सञ्चालन गर्न तथा निर्धारित स्थानबाट मात्र टिकट बिक्री गर्ने व्यवस्था मिलाउन भनेको हो।
समितिले सडकको अवस्था र सम्भावित जोखिम पहिल्यै मूल्यांकन गरी वैकल्पिक मार्ग तयार राख्न तथा सवारीसाधनको प्राविधिक परीक्षण गर्न पनि निर्देशन दिएको छ। चालकलाई पर्याप्त आरामको व्यवस्था गर्न र तीव्र गति नियन्त्रण गर्नसमेत समितिले भनेको छ।
सभापति आशिष गजुरेलले क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति रोक्न तथा भाडादरको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए।
समितिले यात्रुले टिकट नपाउने, बढी भाडा तिर्नुपर्ने वा टिकटमा ठगी हुने अवस्था आउन नदिन तत्काल कार्ययोजना बनाउन भनेको छ। यात्राका क्रममा पानी, खाजा र खानालगायत वस्तुमा हुने मूल्य तथा गुणस्तरसम्बन्धी ठगी रोक्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।








