काठमाडौँ – असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले मुलुकको जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न करिडोरका २७ भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुग्दा करिब १ हजार मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बाढीपहिरोका कारण जलविद्युत आयोजनाका उत्पादन तथा वितरण दुवै संरचनामा क्षति पुगेको जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठका अनुसार कालीगण्डकी करिडोरका १३ र अन्य नदी बेसिनका १४ गरी २७ वटा आयोजनाको करिब १ हजार मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ ।
क्षतिग्रस्त आयोजनामध्ये निलगिरी–१, निलगिरी–२, मिस्त्री, थापाखोला, रेलेखोला र घलेम्दी लगायतका सात आयोजनाबाट उत्पादन हुने १९० दशमलव ४ मेगावाट विद्युत पुनः सञ्चालन गर्न केही महिना लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राहुघाट जलविद्युत आयोजनाको स्विचयार्डमा समेत कालीगण्डकी नदीको कटानका कारण क्षति पुगेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
केही आयोजनाको विद्युत आपूर्ति भने मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । हाल म्याग्दी र बागलुङमा पर्वतबाट वैकल्पिक लाइन जोडेर विद्युत सेवा सुचारु गरिएको छ भने मुस्ताङ र मनाङमा विद्युत सेवा सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको छ ।
मन्त्री श्रेष्ठले विद्युत चुहावट नियन्त्रण गर्न र अनावश्यक विद्युत खपत कम गर्न आग्रह गर्दै विद्यमान वितरण प्रणालीको स्तरवृद्धि सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले नेपालको वितरण प्रणाली पुरानो रहे पनि विद्युतको माग उल्लेख्य रूपमा बढेको बताउँदै राष्ट्रिय प्रसारण लाइन सुदृढीकरणमा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो । पूर्व र पश्चिमबीच ऊर्जा आदानप्रदान सहज बनाउन प्रसारण प्रणालीलाई बलियो बनाउने उहाँको भनाइ थियो ।
मन्त्री श्रेष्ठले विद्युतीय सवारी साधनको भन्सार दरलगायतका नीतिगत विषयमा पनि आर्थिक ऐनका आधारमा पुनरावलोकन गर्ने संकेत गर्नुभयो ।








