पोखरा – जिल्ला प्रहरी कार्यालय तनहुँअन्तर्गत इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत प्रहरी निरीक्षक प्रदीप सुवेदी गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयले जारी गरेको प्रमाणपत्रअनुसार सुवेदीले संगठनबाट प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार, कर्तव्यनिष्ठ र उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको उल्लेख छ।
प्रमाणपत्रमा सुवेदीको नेतृत्वमा भदौ महिनामा विभिन्न नाम तथा परिमाणका अवैध लागूऔषधसहित ११ जना पक्राउ गरी कानुनी दायरामा ल्याइएको, भोटेकोशी बाढीमा परी मृत्यु भएका ३८ जनाको शव निकाल्न, फरार प्रतिवादी पक्राउ गर्न तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।
Gउल्लेखित कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै उनलाई ‘BEST POLICE OF THE MONTH’ घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीको हस्ताक्षर रहेको प्रमाणपत्रमा सुवेदीलाई उत्कृष्ट प्रदेश प्रहरी छनोट भएकोमा बधाईसमेत दिइएको छ।








