images
images

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

काठमाडौँ – नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी)को आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली : डिजाइन, जडान र सुरक्षा’सम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको हो ।

प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा सञ्चालित यो कार्यक्रम संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास संगठन (युएनआईडिऔ) द्वारा व्यवस्थापित तथा बेलायत सरकारको सहयोगमा एक्सिलरेट-टु-डेमोन्स्ट्रेट (एटुडी) फ्यासिलिटी अन्तर्गत सञ्चालित ग्रिड रेजिलेन्स थ्रु इन्टेलिजन्ट फोटोभोल्टाइक सिस्टम्स फेज-२ (जीआरआईपीएस२) परियोजना मार्फत आयोजना गरिएको हो।

पाँच दिनसम्म सञ्चालन हुने यस तालिममा देशभरका निजी क्षेत्र, शैक्षिक तथा अनुसन्धान संस्थान र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूबाट छनोट गरिएका ४५ जना इन्जिनियरहरूको सहभागिता रहेको छ ।

तालिमका क्रममा सहभागीहरूलाई औद्योगिक क्षेत्रका लागि आवश्यक सोलार पीभी तथा बीईएसएस प्रणालीको डिजाइन, जडान, सञ्चालन, सुरक्षा व्यवस्थापन, आर्थिक विश्लेषण तथा ग्रिड एकीकरण सम्बन्धी व्यावहारिक र प्राविधिक ज्ञान हस्तान्तरण गरिनेछ ।

तालिममा ऊर्जा संक्रमण, नेपालमा सौर्य र ब्याट्री सञ्चय प्रणालीको वर्तमान अवस्था, औद्योगिक डिकार्बोनाइजेसन (औद्योगिक कार्बन उत्सर्जन कटौती), ऊर्जा व्यवस्थापन, ग्रिड सेवाहरू, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, साइबर सुरक्षा, वातावरणीय तथा सामाजिक सुरक्षा, सञ्चालन तथा मर्मत र पुनःप्रयोग एवं पुनर्चक्रणजस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन् । सैद्धान्तिक ज्ञानका अलावा सहभागीहरूलाई वास्तविक औद्योगिक परिदृश्यमा आधारित समूह अभ्यास र क्षेत्रीय अवलोकन भ्रमणमार्फत व्यावहारिक अनुभव गराइने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।

नेपालले स्वच्छ ऊर्जा विस्तार, ऊर्जा सुरक्षा तथा हरित औद्योगिकीकरणलाई प्राथमिकतामा राखिरहेको वर्तमान सन्दर्भमा सौर्य ऊर्जा र बीईएसएसको प्रयोगले उद्योगहरूको ऊर्जा लागत घटाउन, विद्युत् आपूर्तिको भरपर्दोपना बढाउन र कार्बन उत्सर्जन कम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा केन्द्रले गरेको छ ।

‘विशेषगरी हालैका बाढी तथा जलवायुजन्य विपद्हरूले ऊर्जा पूर्वाधारको जलवायु जोखिमलाई उजागर गरेको छ । नेपालको विद्युत् प्रणाली मुख्यतः जलविद्युत्मा आधारित रहेको र उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारहरू नदी प्रणालीसँग नजिक रहेकाले चरम मौसमीय घटनाबाट प्रभावित हुनसक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीले स्थानीय स्तरमै ऊर्जा उत्पादन र सञ्चय गर्न सक्ने भएकाले ऊर्जा प्रणालीको जलवायु सहनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ,’ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी सञ्चालक समिति सदस्य अंकिता शाहले भनिन् ।

उनकाअनुसार सोलार पीभी र बीईएसएसको प्रणालीको डिजाइन, जडान, सञ्चालन, मर्मत, ऊर्जा व्यवस्थापन तथा रियल टाइम मोनिटरिङका क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्दै यस कार्यक्रमले हरित रोजगारी सिर्जना गर्न र नयाँ उद्यमशीलताका अवसरहरू खोल्न टेवा पुर्‍याउनेछ ।

सञ्चालक समिति सदस्य शाहले वर्तमान सरकार र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख प्राथमिकता नै ऊर्जा मिश्रण र ऊर्जा सुरक्षा रहेको बताइन् । ‘यस पटक बीईएसएस सहितको सौर्य ऊर्जा सरकारको उच्च प्राथमिकतामा रहेको छ । यससम्बन्धी नीतिगत स्तर र दिशानिर्देशहरूमा द्रुत गतिमा काम भइरहेको छ । चाँडै सोलारमा आधारित बीईएसएसलाई एउटा प्रमुख औद्योगिक क्षेत्रका रूपमा विकास गर्न लागिएको सन्दर्भमा यो तालिम एकदमै उपयुक्त समयमा आयोजना भएको छ,’ उनले भनिन् ।