काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सरकारले बन्द रहेका उद्योग खोल्नेबारेमा मात्र नभएर खुलेका उद्योग टिकाउनेबारेमा काम गर्नुपर्ने बताएकी छन्।
हाल सरकारले बन्द रहेको विराटनगरको जुट मिल, हेटौडाको कपडा उद्योग खोल्ने नीति लिएर काम गरिरहेको छ। कपडा उद्योगबाट कपडासमेत उत्पादन थालिएको छ।
तर बन्द रहेका उद्योग खोल्दै गर्दा सञ्चालनमा रहेका उद्योगहरू टिकाउनेबारेमा सरकारको ध्यान जान नसकेको भन्दै सांसद डाँगीले सञ्चालनमा रहेका उद्योग पनि टिकाउनका लागि सरकारले काम गर्नुपर्ने बताएकी हुन्।
‘विरानटनगरको जुट मिल पुन: सञ्चालन गर्ने सरकारको पहल सकारात्मक छ। तर सञ्चालनमा रहेका जुट उद्योग कसरी चलाउने भन्ने विषयमा पनि सरकारको ध्यान जान आवश्यक छ’, मंगलबारको संसद् बैठकमा बोल्दै उनले भनिन्।
नेपालका जुटजन्य वस्तुमा भारतले लगााएको करलगायतका कारण नेपालका उखु किसान मारमा परेको भन्दै उनले भारत सरकारसँग कूटनीतिक पहल गर्न माग गरिन्। ‘भारतले नेपालका जुटजन्य वस्तुमा लगाएकाे एन्टी डम्पिङ ड्युटी बृद्धि जारी तथा काउन्टर भेलिङ ड्युटी इभेष्टिगेसनका कारण नेपाली जुट उद्योहरू प्रभावित बन्दै गएका छन्। जुट उद्योग बन्द हुँदा हजारौँको रोजगारी गुम्ने मात्र होइन। किसानका उखु बाटोमै फाल्नुपर्ने अवस्था छ’, उनले भनिन् ‘त्यसैले भारतसँग आवश्यक कूटनीतिक पहल गरी नेपालको जुटउद्योगको संरक्षण गर्न आवश्यक छ।’








