images
images

चोलेन्द्रशमशेर पक्राउबारे सरकारले भन्यो- जेनजीको थ्रेट होइन, उहाँलाई म्यासेजमार्फत सुरक्षा थ्रेट आएको थियो’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको मोबाइलमा ‘टेक्स्ट मेसेजमार्फत सुरक्षा थ्रेट आएको’ र त्यसै आधारमा सुरक्षित स्थानमा सारिएको दाबी गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्ने क्रममा प्रश्नहरूको जवाफ दिँदै उक्त कुरा बताएका हुन्।

राणालाई पक्राउ नगरिएको र नियन्त्रणमा समेत नलिएको उनले बताए।

‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरबारे प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन,’ मन्त्री पोखरेलले सञ्चारकर्मीहरूमाझ भने।

पोखरेलले राणाकै परिवारबाट सुरक्षाका लागि प्रहरी कार्यालयमा निवेदन दिएपछि उनलाई सुरक्षित स्थानमा सारिएको दाबी पनि गरे।

‘उहाँको परिवारबाट थप सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन पठाउनुभएको थियो,  सोही आधारमा उहाँलाई सुरक्षा दिन उद्धार गरिएको हो, पक्राउ गरिएको होइन,  यसको पुष्टि उहाँहरूले सुरक्षा माग गरेर निवेदन दिएकाले नै गर्छ,’ पोखरेलले भने।

मन्त्री पोखरेलले यसअघि प्रहरीले दाबी गरेजसरी कुनै जेनजीबाट थ्रेट नआएको पनि जानकारी दिए। ‘जेनजीको थ्रेट होइन,’ उनले भने।