images
images

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन: ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताएका छन्।

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयबारे आज कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल रूपमा सम्बोधन गर्दै ओलीले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिएका हुन्।

लोकतन्त्रको रक्षा र अब हुने स्थानीय तहको निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको उल्लेख गर्दै उनले अर्जुनदृष्टि लिएर लक्ष्यमा केन्द्रित हुन आग्रह गरे। अन्य कुनै दलसँग तत्काल पार्टी एकता नहुने तर चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुनसक्ने उनको भनाइ थियो।

उनले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला वा कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ नबनी स्थलमै गएर योजना बनाउन निर्देशन दिए।

पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट सञ्चालित भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेललगायत नेताहरूको उपस्थिति थियो।