images
images

एमालेको वरिष्ठ नेता बन्न पाउँदा गौरव लागेको छः विद्या भण्डारी

काठमाडौँ – नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।

मंगलबार रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीहरूसँग सरसल्लाह गरी यस क्षेत्रमा रहेका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएकी हुन्। पूर्वराष्ट्रपतिसमेत रहेकी नेता भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्।

उनले आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारीसमेत लुम्बिनीमै पाएको स्मरण गर्दै फेरि वरिष्ठ नेताहरुको रुपमा समेत यही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुशी लागेको बताइन्।

भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुङ्गो लाग्न बाँकी रहेको बताइन्।

उनले भनिन्, ‘सुखद संयोग भन्नुपर्छ, यो पार्टीले मलाई वरिष्ठ नेता मनोनित गरेको छ। मैले त आफूलाई वरिष्ठ नेता भन्न चाहेको थिएन, सबै जनाले भनेकोभन्यै गर्नुहुन्छ। हुन त औपचारिक रुपमा कसरी जिम्मेवारीमा सुरुवात गर्ने हो टुंगो लागिसकेको छैन। तर, पनि यहाँ गौरव लागेको छ।’

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो।