images
images

आईपीओ निष्कासन गर्दै विराट एग्री, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं- विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनसम्बन्धी कार्यका साथै संस्थागत परामर्श सेवाका लागि समेत एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको जनाएको छ ।

सुनसरीको इटहरी-१३ मा रहेको विराट एग्री कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक र दिगो ढाँचामा विकास गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनी हो । कम्पनीले मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत एकीकृत कृषि तथा व्यावसायिक मत्स्यपालन गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार विराट एग्री देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्ममध्ये एकका रूपमा अघि बढिरहेको छ । कम्पनीले इटहरी-१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमता भएको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गरिरहेको छ । उक्त प्लान्टबाट आफ्ना परियोजना तथा बजारका लागि विभिन्न प्रकारका माछाका दाना उत्पादन तथा बिक्री वितरण हुँदै आएको कम्पनीले जनाएको छ ।

कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्ने योजनाअनुसार कम्पनीले उत्पादन, प्रशोधन, प्याकेजिङ र बजारीकरणलाई थप व्यवस्थित तथा व्यावसायिक बनाउने लक्ष्य लिएको छ । प्रस्तावित आईपीओबाट प्राप्त पूँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि भित्र्याउन तथा आवश्यक व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने कम्पनीको योजना छ ।

विराट एग्रीले आधुनिक प्रविधिमा आधारित पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको छ । उक्त प्लान्टमार्फत पाङ्गास माछाको प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादनको उत्पादन, प्याकेजिङ र बजारीकरण गर्ने योजना कम्पनीको छ ।

त्यस्तै, हाल सञ्चालनमा रहेको फ्लोटिङ फिस फिड प्लान्टका अतिरिक्त माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने लक्ष्य पनि कम्पनीले लिएको छ ।

यी पूर्वाधार विकाससँगै उत्पादनदेखि प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियालाई एउटै एकीकृत प्रणालीमा जोड्ने कम्पनीको दीर्घकालीन योजना रहेको जनाइएको छ ।

कम्पनीले ‘फार्म टु मार्केट’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादनदेखि माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रियालाई एउटै व्यावसायिक चक्रमा विकास गर्ने योजना अघि बढाएको जनाएको छ ।

विस्तार योजनाले नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्याधउने कम्पनीको अपेक्षा छ ।

यसैबीच, एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत विभिन्न क्षेत्रका प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्नेदेखि साधारण शेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ।