काठमाडौं– सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी शंकरलाल अग्रवाललाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाउने आदेश गरेको हो।
अग्रवाल मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए। उनको बयान लिएपछि थुनछेक बहस भएको थियो। बहसपछि अदालतले उनलाई मुद्दाको पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
यसअघि बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले अग्रवाललाई थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले बैंकिङ कसुर मुद्दामा उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
तर, सर्वोच्चबाट धरौटीमा छुटेको केही समयमै सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको हो।
अग्रवालमाथि व्यवसायी दीपक भट्टसँग मिलेर विभिन्न वित्तीय अपराध गरेको आरोपमा मुद्दा दायर भएको छ। उनीसहित उनका दुई छोरा, बुहारी र नातिविरुद्ध सम्पत्ति शुद्धीकरण, धितोपत्रसम्बन्धी कसुर, बैंकिङ कसुर तथा बिमासम्बन्धी कसुरमा अभियोजन गरिएको छ।
अग्रवालका छोरा सुलभ अग्रवाल पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामै छन्। अर्का छोरा साहिल अग्रवाल भने फरार रहेको अदालतसम्बन्धी अभिलेखमा उल्लेख छ।
यसरी अग्रवालविरुद्ध विभिन्न वित्तीय कसुरसँग सम्बन्धित मुद्दा एकैपटक अघि बढिरहेका बेला बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी पाएका उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा भने विशेष अदालतले थुनामै राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश गरेको हो।











