images
images

​देशकै पहिलो बहुभाषिक विद्यालय राजनीति र उपेक्षाको मारमा: रास्वपा सचेतक परियार

​काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’ को दयनीय अवस्थाबारे प्रतिनिधिसभाको ध्यान आकर्षित गराउनुभएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले देशकै पहिलो ऐतिहासिक बहुभाषिक विद्यालय अहिले स्थानीय सरकारको उपेक्षा, आन्तरिक अव्यवस्था र दलीय राजनीतिको शिकार बनेको बताउनुभयो।

​वि.सं. २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीबाट उद्घाटन भएको उक्त विद्यालय नेपालका सबै जातजातिको भाषा र संस्कृति संरक्षण गर्ने ऐतिहासिक धरोहर भए पनि पछिल्लो समय भौतिक तथा व्यवस्थापकीय संकटबाट गुज्रिहेको परियारको भनाइ थियो।

​सदनमा बोल्दै सचेतक परियारले नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालित विद्यालयमा हाल ५५ जना बालबालिका मात्र अध्ययनरत रहेको जानकारी गराउनुभयो। ५५ जना विद्यार्थीका लागि ३ जना स्थायी, ३ जना राहत, २ जना अनुदान, २ जना निजी स्रोतका शिक्षक र १ जना कर्मचारी गरी ११ जनाको दरबन्दी र जनशक्ति कायम रहे पनि पठनपाठन भने गम्भीर रूपमा प्रभावित भइरहेको उहाँले बताउनुभयो। विद्यार्थी सङ्ख्याको तुलनामा पर्याप्त जनशक्ति हुँदाहुँदै पनि आन्तरिक व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाहीका कारण शैक्षिक गुणस्तर खस्कँदै गएको तर्फ उहाँले औँल्याउनुभयो।

​विद्यालयको भौतिक पूर्वाधारको अवस्था अत्यन्तै नाजुक रहेको उल्लेख गर्दै सांसद परियारले विद्यालय प्रवेश गर्ने मुख्य बाटो हिलाम्मे रहेको, बालबालिकाका लागि खेलमैदानको अभाव भएको र भवनहरू जीर्ण बनेको चित्र सदनसमक्ष राख्नुभयो। स्थानीय सरकारका रूपमा रहेको इटहरी उपमहानगरपालिकाबाट विद्यालयको संरक्षण र स्तरोन्नतिका लागि आवश्यक सहयोग प्राप्त हुन नसकेको उहाँको आरोप छ।
​भाषा र संस्कृतिको नमुना केन्द्र बन्नुपर्ने विद्यालयलाई पछिल्लो समय राजनीतिक दलहरूको क्रिडास्थल बनाइएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। विद्यालयलाई पूर्ण रूपमा राजनीतिमुक्त बनाएर पठनपाठनमा अनुशासन कायम गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।

​सांसद परियारले ऐतिहासिक पहिचान बोकेको यस विद्यालयको स्तरोन्नति गर्न, आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न र पठनपाठनको वातावरण सहज बनाउनका लागि स्थानीय सरकार तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगअनरेध गर्नुभएको छ।
​