काठमाडौं — नेपाल राष्ट्र बैंकले यसपालि दसैंलाई नै लक्षित गरेर औपचारिक सूचनामार्फत नयाँ तथा खुद्रा नोट सटहीको छुट्टै मिति नतोक्ने भएको छ।
विगतका वर्षहरूमा पर्व विशेषका रूपमा नयाँ नोट वितरण गरिँदै आएकोमा यसपटकदेखि नियमित कार्यालय समयमै यस्तो सुविधा उपलब्ध गराइने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार निश्चित चाडपर्व तोकेर नोट साट्ने पुरानो अभ्यास हटाएर अब बजारको मागअनुसार नियमित कामकै रूपमा सटही सुविधा दिन थालिएको हो।
केन्द्रीय बैंकसँग पर्याप्त नोट मौज्दात रहेकाले माग धान्न सकिने र नयाँ नोट नपुगेको अवस्थामा सुकिला नोट वितरण गरिने योजना रहेको उनले स्पष्ट पारे। साथै, बैंक तथा वित्तीय संस्थाहरूले पनि आवश्यक नयाँ र खुद्रा नोट लगिसकेकाले ग्राहकहरूले ती संस्थामार्फत समेत सुविधा लिन सक्नेछन्।
यसपालि देशमा निम्तिएको प्राकृतिक विपत्तिका कारण सर्वसाधारणका लागि दसैं उत्सवमय बन्न नसकेकाले पनि तामझामसहितको औपचारिक सूचना ननिकालिएको निर्देशक दाहालले बताए।
हाल राष्ट्र बैंकको काउन्टरमा सटहीका लागि जानेहरूलाई प्रतिव्यक्ति दुई बन्डलसम्म नोट उपलब्ध गराइएको छ।
यसअन्तर्गत ५, १०, २०, ५० र १०० दरका १००/१०० थान नोट समावेश छन्। व्यक्तिगत प्रयोजनका लागि नयाँ नोट उपलब्ध नहुने भए पनि व्यापारिक आवश्यकताका आधारमा नयाँ र सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ।








