दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको विमानमा सहपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेपछि ठूलो दुर्घटना टरेको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घाइते पाइलटले आक्रमणको प्रतिकार गर्दै विमानको नियन्त्रण कायम राख्न सफल भएपछि करिब १८० यात्रुको ज्यान जोगिएको हो।
फ्लाइदुबईको उडान एफजेड १०७३ दुबईबाट तेल अभिभका लागि उडेको थियो। उडानकै क्रममा ककपिटमा रहेका दुई पाइलटबीच हिंसात्मक झडप भएको थियो। यस क्रममा भारतीय क्याप्टेन स्मित मच्छरमाथि उनका ओमानी सहपाइलटले चक्कुले आक्रमण गरेको पछिल्ला विवरणमा दाबी गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मच्छरले आक्रमणको प्रतिकार गर्दै विमानको नियन्त्रण कायम राख्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनीमाथि आक्रमण भए पनि उनले विमानलाई सुरक्षित रूपमा साउदी अरबको तबुकतर्फ मोड्न सफल भएको ‘द इकोनमिस टाइम्स’ को रिपोर्टमा उल्लेख छ।
मच्छर सन् २०२२ मा फ्लाइदुबईमा आबद्ध भएको र त्यसअघि करिब एक दशक भारतीय निजी वायुसेवा कम्पनी स्पाइसजेटमा पाइलटका रूपमा काम गरेको विवरण इनसर्ट्ससहित भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
घटनापछि विमानले आपत्कालीन संकेतसमेत प्रसारण गरेको थियो। विमानले पहिले ‘७७००’ र त्यसपछि ‘७५००’ कोड पठाएको थियो। ‘७७००’ सामान्य आपत्कालीन अवस्थाको संकेत हो भने ‘७५००’ विमानमा गैरकानुनी हस्तक्षेप वा सम्भावित अपहरणको संकेतका रूपमा प्रयोग हुन्छ। ‘७५००’ संकेतपछि इजरायलले आफ्ना लडाकु विमानसमेत परिचालन गरेको थियो।
यसैबीच, विमानको उचाइ पनि असामान्य रूपमा तीव्र गतिमा घटेको फ्लाइट ट्र्याकिङ विवरणले देखाएको छ। विमान करिब ३४ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको र त्यसपछि साउदी अरबको तबुकस्थित विमानस्थलमा अवतरण गरिएको विवरण सार्वजनिक भएको छ।
विमानमा भएको घटनाबारे यात्रुहरूले ककपिटबाट चिच्याएको आवाज सुनेको र त्यहाँ रगत देखिएको बताएका छन्। केही रिपोर्टमा यात्रुहरूले ककपिटमा पुगेर स्थिति नियन्त्रणमा लिन सहयोग गरेको उल्लेख छ। यद्यपि घटनाको सम्पूर्ण विवरण र चक्कु प्रहारसम्बन्धीको घटनाका विषयमा भने अनुसन्धानपछि मात्रै पुष्टि हुने छन्।
विमान तबुकमा सुरक्षित अवतरण गरेपछि यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेको फ्लाइदुबईले जनाएको छ। दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ। घटनाबारे साउदी र इजरायली सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्।
अहिले अनुसन्धानको मुख्य विषय ककपिटमा झडप किन सुरु भयो, सहपाइलटले क्याप्टेनमाथि किन आक्रमण गरे र त्यस क्रममा विमानको नियन्त्रणमा कति असर परेको थियो भन्ने रहेको छ। अहिलेसम्म उपलब्ध विवरणका आधारमा भने भारतीय क्याप्टेन स्मित मच्छरले घाइते अवस्थामै विमानलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेको रिपोर्ट सार्वजनिक भएको छ।








