काठमाडौं- दसैँ नजिकिँदै गर्दा नेपाल–चीन जोड्ने सबै नाका ठप्प बनेका छन्।
चाडबाडको मुखमा सबै नाका अवरुद्ध हुँदा व्यापारी र उपभोक्ता दुवै मारमा परेका छन्।
गत भदौ १० गते भोटेकोसी बाढीले सामान बोकेका मालवाहक कन्टेनर बगायो। भन्सार प्रक्रिया पूरा भई छुट्न तयार भएका गाडीहरूसमेत बाढीले बगाएपछि कपडा व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्यो।
तिहारका लागि लक्षित सामानहरू र जाडो यामका लत्ताकपडाहरू नाकाको अवरोधले समयमै पुग्न सकेका छैनन्। कपडाका अतिरिक्त स्याउ, सुन्तला जस्ता छिटो बिग्रिने फलफूल र खाद्यवस्तुहरू पनि बाटोमै अड्किँदा बढी क्षति भइरहेको व्यवसायीको गुनासो छ।
चीनबाट सामान ल्याउन भारत हुँदै समुद्र मार्ग वा हवाई मार्ग प्रयोगको विकल्प भए पनि दसैँ केन्द्रित बजारका लागि उक्त विकल्प प्रयोगमा समय नरहेको व्यवसायीहरू बताउँछन्।
ढुवानी खर्चमा भएको वृद्धिका साथै चिनियाँ मुद्रा (आरएमबी) को विनिमय दर बढेर प्रति आरएमबी २४ रुपैयाँसम्म पुगेको छ। सडकको सास्ती, गाडी भाडा र चिनियाँ मुद्रा महँगिएका कारण यो वर्ष कपडा तथा अन्य सामानको मूल्यमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि हुने व्यवसायीहरू अनुमान गर्छन्।
नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर नाका केही दिन मात्र बन्द हुँदा पनि सरकारको राजस्व संकलन र व्यापार चक्रमा पनि धक्का पुगेको बताउँछन्। ‘सीमा क्षेत्र तथा भन्सार परिसरमा सामान राख्ने ठाउँको अभाव भई कन्टेनरहरू उतै अड्किएका छन् । यसले गर्दा बैंकको ब्याज र ट्रान्सपोर्टेसन लागतको भार बढेर व्यवसायीहरूले अर्बौँ रुपैयाँको नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भयो,’ उनले भने।
पछिल्लो समय प्राय हरेक वर्ष चाडपर्वको आसपासमा प्राकृतिक विपद्का कारण आयात प्रभावित हुने गरेको छ। यसपटक त झन् अप्रत्यासित हिमबाढीले नेपाल चीन जोड्ने उत्तरतर्फको रसुवा भन्सार नाका ध्वस्त बनायो।
विगत साउनदेखि बन्द रहेको नेपाल–चीन सीमास्थित प्रमुख व्यापारिक तातोपानी–कोदारी नाका पुनः सञ्चालनमा ल्याउन नेपाल सरकारले कूटनीतिक तथा अन्तर–मन्त्रालय सहजीकरण तीव्र बनाएको छ।
तातोपानी र रसुवागढी दुवै बन्द भएपछि नेपाल – चीनबीचको व्यापारिक ओसारपसारका लागि वैकल्पिक रूपमा कोरलास्थित मुस्ताङ भन्सार कार्यालय रोजियो।
काठमाडौंबाट करिब ११९ किलोमिटर दूरीमा रहेको तातोपानी नाका बन्द भएपछि व्यवसायीहरूले चार गुणा ढुवानी भाडा तिरेरै भए पनि वैकल्पिक रूपमा करिब ४३० किलोमिटर टाढाको कोरला नाका प्रयोग गरी घुमाउरो बाटोबाट सामान आयात गरिरहेका थिए । तर उक्त नाका पनि असोज ११ गतेदेखि ठप्प छ। उक्त नाका भने केही दिनभित्र खोल्ने गरी तयारी भइरहेको भन्सार अधिकारीहरूले बताएका छन्।








