नयाँ दिल्ली — नेपाल र भारतबीच पत्रकारिता तथा मिडिया सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा नयाँ दिल्लीमा आयोजित एक बैठकमा छलफल भएको छ।
नेपाल–इन्डिया मिडिया एसोसिएसनको आयोजनामा भएको बैठकमा नेपालबाट सहभागी राज्यलक्ष्मी र उहाँकी सहयोगीसहित दिल्लीस्थित पत्रकार तथा मिडिया प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकमा नेपाल र भारतका पत्रकारबीच नियमित संवाद, संयुक्त कार्यक्रम, मिडिया एक्सचेन्ज तथा अनुभव आदान–प्रदानलाई संस्थागत रूपमा अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।
त्यसैगरी, बुद्ध सर्किटमार्फत नेपाल र भारतका बौद्ध तथा आध्यात्मिक पर्यटकीय गन्तव्यको संयुक्त प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो। लुम्बिनी लगायत दुवै देशसँग जोडिएका बौद्ध तथा सांस्कृतिक स्थललाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने बैठकमा सहभागीहरूले बताएका थिए।
बैठकमा नेपाल–भारत कूटनीतिक सम्बन्धलाई मिडियामार्फत थप सुदृढ बनाउने, भारतमा कार्यरत विभिन्न देशका राजदूत तथा उच्चायुक्तसँग नेपालसम्बन्धी विषयमा संयुक्त मिडिया संवाद गर्ने सम्भावना र Business Journalism मार्फत दुई देशबीचको व्यापार, लगानी तथा आर्थिक सम्बन्धका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा पनि छलफल भएको थियो।
यस्तै, सीमा क्षेत्र, सांस्कृतिक सम्पदा, युवा पत्रकार आदान–प्रदान तथा डिजिटल मिडिया सहकार्यका क्षेत्रमा संयुक्त पहल गर्न सकिने विषयमा सहभागीहरूले धारणा राखेका थिए।
बैठकमा पछिल्लो समय बढ्दै गएको फेक न्यूज तथा गलत सूचनाको चुनौतीलाई सम्बोधन गर्न जिम्मेवार, तथ्यपरक र विश्वसनीय पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिइएको थियो।
नेपाल–भारतबीचको सम्बन्धमा मिडियाले समाचार सम्प्रेषणसँगै दुई देशका नागरिकबीचको सम्बन्ध, पर्यटन, व्यापार, संस्कृति र जनस्तरको सम्पर्क विस्तारमा पनि भूमिका खेल्न सक्ने सहभागीहरूको धारणा थियो।
बैठकले साझा चासोका विषयमा नेपाल र भारतका पत्रकारबीच नियमित संवाद र सहकार्यलाई निरन्तरता दिने सम्भावनाबारे समेत छलफल गरेको छ।








