images
images

हिमलुङ हिमपहिरोमा थप ८ जनाको शव फेला, बाँकी एक जनाको खोजी कार्य जारी

काठमाडौँ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप ८ जनाको शव फेला परेको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलकाअनुसार आज थप ८ शव फेला परेका हुन्। उनीहरूको पहिचान हुन बाँकी रहेको छ।

आज ८ जनाको शव फेला परेसँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। असोज ११ गते हिमपहिरो जाँदा १६ जना हराएका थिए। अब बाँकी १ जनाको खोजी कार्य भइरहेको पौडेलले बताए।

हिमपहिरोमा हराइरहेकाहरूको खोजमा नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोली खटिरहेको छ।

यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो। बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। आइतबार र सोमबार चार जनाको शव भेटिएको थियो। वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा ११ जनाको टोली खोज तथा उद्धारमा खटिएको छ। खोज तथा उद्धार टोलीमा विक्रम कार्की, दावा जंबु शेर्पा, निगिमा टासी शेर्पा, बलराम गोम्बू, काजी शेर्पा, दा नोर्बु शेर्पा, दावा संगे शेर्पा, टार्के शेर्पा र दावा तेन्जी शेर्पा रहेका छन्।