images
images

राष्ट्रिय सभामा रिक्त दुई पदको पदपूर्ति छिट्टै हुन्छः मन्त्री गौतम

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभामा रिक्त दुई सदस्यको पदपूर्ति प्रक्रिया छिट्टै अघि बढाइने  बताएकी छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले ६ महिनाभन्दा बढी समयदेखि रिक्त राष्ट्रिय सभाका दुई पदको पदपूर्ति सम्बन्धमा हालसम्म कुनै निर्णय भएको छैन। राष्ट्रपतिबाट मनोनीत एक र सुदूरपश्चिम प्रदेशबाट निर्वाचित एक गरी माथिल्लो सभामा दुई पद रिक्त छन्।

मन्त्री गौतमले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको पदपूर्तिका लागि आवश्यक प्रक्रिया यथाशीघ्र अघि बढाइने बताइन्। उनले विगतमा सरकार परिवर्तन र राजनीतिक संक्रमणका कारण मनोनीत सदस्यको पदपूर्ति समयमै हुन नसकेको अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन्।

संसद् सदस्यको पद लामो समयसम्म रिक्त राख्नु उपयुक्त नहुने भन्दै उनले पदपूर्ति प्रक्रिया छिट्टै टुंग्याउने प्रतिबद्धता जनाइन्। निर्वाचित सदस्यतर्फ रिक्त पदका लागि निर्वाचन आयोगले प्रचलित कानुनअनुसार निर्वाचन प्रक्रिया अघि बढाइरहेकोसमेत मन्त्री गौतमले जानकारी दिइन्।

सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले मनोनीत स्थानमा गत चैत पहिलो साता तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपतिको कार्यालयले तत्कालीन सरकारको सिफारिस ‘होल्ड’ गरेको छ।