काठमाडौँ – कांग्रेसको संस्थापन इतर पक्षले ३ हजार १९१ वडामा अधिवेशन गरेको जनाएको छ।
संस्थापन पक्षसँग असन्तुष्टि जनाउँदै शेरबहादुर देउवाको नेतृत्वमा भइरहेको समानान्तर अधिवेशनअन्तर्गत बिहीबार ३ हजारभन्दा बढी वडाहरूमा अधिवेशन गरिएको हो। देउवा पक्षले मङ्सिर २१ देखि २३ गते पार्टीको १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
निर्वाचन समितिका संयोजक एगराज पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार देशभरका कुल ६ हजार ७४३ वडामध्ये आजसम्म ३ तीन १९१ वडामा अधिवेशन सम्पन्न भएको छ। बाँकी रहेका अन्य वडाहरूमा भने क्रमशः यही असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको जानकारी गराइएको छ।
सार्वजनिक विवरणअनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशका ५६३ वडा र लुम्बिनी प्रदेशका ५५० वडामा अधिवेशन सम्पन्न भएको छ। त्यसैगरी कोशी प्रदेशका ५७७ वडाहरूमध्ये ५७७, मधेश प्रदेशका ४०२, गण्डकी प्रदेशका ३८६, सुदूरपश्चिम प्रदेशका ४५६ र कर्णाली प्रदेशका २५७ वडामा अधिवेशन सकिएको छ।
विज्ञप्तिमा प्राकृतिक विपत्तिका कारण केही स्थानको अधिवेशन स्थगित गरिएको उल्लेख छ। रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण अधिवेशन हुन नसकेको र बागलुङमा पार्टीका नेता मणिभद्र शर्मा कँडेलको श्रीमतीको निधन भएका कारण स्थगित अधिवेशन भोलि असोज १६ गते सम्पन्न हुने समितिले जनाएको छ।
उता संस्थापन पक्षले भने असोज १८ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। संस्थापन पक्षले वडादेखि क्षेत्रसम्मको अधिवेशन गरेको छ।








