काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि फेरि उठ्न सकिने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटीका सदस्यहरूलाई शपथ गराउँदै उनले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान उद्देश्यमा केन्द्रित हुन निर्देशन दिए।
उनले पार्टीभित्र ‘रियलाइजेसन’ को आवश्यकता रहेको बताए। सत्यलाई आत्मसाथ गर्नसके मात्रै लडेको ठाउँबाट फेरि उठ्न सकिने उनको भनाइ थियो।
उनले हाल पार्टीले ब्यहोरेको धक्का स्वाभाविक भएको भन्दै त्यसबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गरे। उनले आफ्नो दल पहिले दुई तिहाइको नजिक पुगेको बताए।
उनले आफूलाई दिइएको जिम्मेवारीमा सम्पूर्ण सामर्थ्य र बुद्धि लगाउन आह्वान गर्दै पार्टीको भविष्य कार्यकर्ताकै निष्ठामा निर्भर रहेको बताए।
‘धक्का खाए पनि फेरि उठ्ने र अझ बलियो भएर अघि बढ्ने क्षमता विकास गर्नुपर्छ। हामी विगतमा दुई तिहाइको अवस्थामा पुगेका थियौँ। तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन। त्यस अवस्थालाई आधार बनाएर अझ ठूलो उद्देश्यतर्फ अघि बढ्नु हाम्रो लक्ष्य हो,’ उनले भने।








