images
images

सरकारले राष्ट्रिय सभाको अस्तित्व र मर्यादालाई उपेक्षा गर्‍योः कमला पन्त

काठमाडौँ – नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारले राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमालाई निरन्तर उपेक्षा गरेको बताएकी छन्।

राष्ट्रिय सभाको चालु अधिवेशनको समापन बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले झन्डै दुई तिहाइको दम्भमा सरकारले संसद्‌प्रतिको जवाफदेहिता गुमाएको र विपद् व्यवस्थापनदेखि जनसरोकारका मुद्दामा पूर्णतः निष्प्रभावी देखिएको बताएकी हुन्।

उनले प्रतिनिधि सभा नियमावली संशोधनमार्फत राष्ट्रिय सभाको अधिकार र अस्तित्व खुम्च्याउने असंवैधानिक प्रयास भएको बताइन्। उनले त्यस कदमविरुद्ध अदालतको ढोका ढक्ढक्याउनुपरेको र सर्वोच्च अदालतबाट न्याय प्राप्त भएको बताइन्। उनले यस अधिवेशनलाई संविधानको रक्षा भएको अवधिका रूपमा व्याख्या गरिन्।

बहालवाला मन्त्रीहरूले समेत सार्वजनिक मञ्चहरूबाट राष्ट्रियसभाको गरिमामाथि आँच आउने अमर्यादित अभिव्यक्ति दिने गरेको भन्दै उनले आपत्ति जनाइन्।

भोटेकोशी बाढी र विपद् व्यवस्थापनको पूर्वतयारीमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाउँदै उनले संसद्ले सचेत गराउँदा गराउँदै पनि सरकारको उदासीनताले ठूलो मानवीय क्षति भएको बताइन्।

राष्ट्रिय सभाले नीति तथा कार्यक्रम, बजेट र अध्यादेशहरू पारित गर्न निरन्तर रचनात्मक सहयोग गरे पनि सरकारले त्यसलाई सभाको कमजोरीका रूपमा बुझेको उनको टिप्पणी छ।