प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा उनले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’को संज्ञा दिँदै सत्तापक्षले संसदलाई केवल प्रतिछायाको रूपमा प्रयोग गरेको आरोप लगाएका हुन्। संसद बैठकलाई सम्बोधन गर्दै नेता थापाले गत निर्वाचनमा आफ्नो दलले व्यहोरेको पराजयलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेको स्पष्ट पारे।
सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै उनले विधि निर्माण प्रक्रियामा सत्तापक्षले संकुचित सोच राखेको आरोप लगाए। संसदमा दर्ता भएका दर्जनौँ विधेयकहरूमा प्रतिपक्षको सुझावलाई स्थान नदिई सरकारले ‘एकाधिकार’लादेको उनको दाबी छ। साथै, नेता थापाले संसदका सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए।
राजनीतिक सहमतिको लागि सभामुखले ठोस अगुवाइ गर्न नसकेको उनको भनाइ छ। यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने जमर्को गर्नु र सत्तापक्षका केही सांसदहरूले सरकारको कार्यशैलीमा प्रश्न उठाउनु सकारात्मक संकेत भएको उनले बताए। उनले भने, ‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन, हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ। लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सत्तापक्षले संख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गर्ने काम गरेको छ।’
भदौ १० को महाविपत्तिपछि रास्वपा सभापतिले सर्वपक्षीय संयन्त्र निर्माणका लागि गरेको पहलको स्वागत गर्दै उनले संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगर्नु त्रुटिपूर्ण भएको औँल्याए। पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्लो समयका राजनीतिक घटनाक्रमसम्म आइपुग्दा सरकारको यात्रा ‘फासीवादी’मार्गमा अग्रसर रहेको उनको आरोप छ।








