images
images

क्याप्टेन स्मितले प्रधानमन्त्रीसँग भने ‘म ती मानिसलाई मर्न दिन सक्दिनथे’

फ्लाईदुबईको तेल अवीभ जाँदै गरेको एक विमानमा बुधबार भएको ‘सम्भावित आतङ्ककारी’ हमलालाई असफल पार्ने भारतीय पाइलटले कसरी विमान भित्रबाट ढोका खोल्न सफल भँए भन्ने कुराको जानकरी प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तामा बताएका छन्।

पाइलट स्मित मच्छरलाई सह-चालकले चक्कु प्रहार गरेपछि विमान तीव्र गतिमा तल खस्न थालेपछि, आफ्नो ज्यान जोगाउने सङ्घर्षकै बीच उनले कसरी ककपिटको ढोका धकेलेर खोलेका थिए भन्ने कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन कुराकानीमा बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाइदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग फोनमा कुराकानी गर्दै उनको साहस र सूझबुझको प्रशंसा गर्दै स्वास्थ्यलाभको कामना गरेका थिए।

प्रधानमन्त्री मोदीले देशभर क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना भइरहेको बताए। गम्भीर चोटका बाबजुद यात्रुको ज्यान जोगाउन उनले गरेको निर्णयप्रति सिंगो देश गर्व गरिरहेको पनि मोदीले बताए।

प्रधानमन्त्रीले भने ‘पूरै देश तपाईंका लागि प्रार्थना गरिरहेको छ। ठाउँ–ठाउँमा महामृत्युञ्जय मन्त्रको जाप भइरहेको छ। तपाईंको साहस, धैर्य र सूझबुझले धेरै मानिसको ज्यान जोगाएको छ। तपाईंले देखाइदिनुभएको छ, भारतीयहरू ज्यान लिने होइन, ज्यान बचाउने मानिस हुन्।’

मोदीले क्याप्टेन स्मित आफैं गम्भीर घाइते भएर जीवन-मृत्युको संघर्ष गरिरहेका बेला पनि आफ्नो ज्यानको परवाह नगरी यात्रुको सुरक्षालाई प्राथमिकता दिएको बताए। उनको साहसिक कदमले १४० करोड भारतीयको गौरव बढाएको प्रधानमन्त्रीको भनाइ थियो।

क्याप्टेन स्मितले सुनाए घटना

प्रधानमन्त्रीसँगको कुराकानीमा क्याप्टेन स्मितले घटनाका बेला आफू लडिसकेको र शरीरमा धेरै चोट लागेको बताए। तर विमानभित्रको अवस्था बिग्रँदै गएको आफूले महसुस गरिरहेको उनले सुनाए।

‘मलाई लाग्यो, यदि म उठिनँ र केही गरिनँ भने अवस्था झन् बिग्रनेछ। म १७ वर्षदेखि विमान उडाइरहेको छु र पछिल्ला ११ वर्षदेखि क्याप्टेनका रूपमा काम गरिरहेको छु। मलाई आँखा बन्द गरेर पनि विमानभित्र के भइरहेको छ भन्ने थाहा हुन्छ। जब म तल लडिरहेको थिएँ, त्यतिबेलै अवस्था बिग्रँदै गएको महसुस भइरहेको थियो।’ उनले भने।

क्याप्टेन स्मितले आफूले अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेको र त्यसपछि अन्य मानिसहरू पनि त्यहाँ प्रवेश गर्न सकेको बताए। उनले घटनाका क्रममा आफूले मात्र नभई अन्य व्यक्तिले पनि महत्वपूर्ण भूमिका खेलेको बताए।

‘म आफ्नो ज्यान बचाउने हिसाबले प्रयास गरिरहेको थिएँ। तर त्यही समयमा मलाई थाहा थियो, म ती मानिसहरूलाई मर्न दिन सक्दिनथे।’ उनले भने।

हनुमान चालिसाबाट पाए हौसला

प्रधानमन्त्री मोदीसँगको कुराकानीका क्रममा क्याप्टेन स्मित भावुक बने। उनले पीडाका बेला आफूले हनुमान चालिसा पाठ गरिरहेको र भगवानले नै आफ्नो ज्यान बचाएको विश्वास रहेको बताए।

‘म निकै सकारात्मक छु। जब मलाई दुख्छ, मलाई एउटै कुरा याद आउँछ म हनुमान चालिसा पढिरहेको हुन्छु। मलाई थाहा छ, भगवानले नै मलाई बचाउनुभएको हो।’ उनले भने।

क्याप्टेन स्मितले आफूले अहिलेको चोटलाई केवल घाउका रूपमा नहेरेको बताए। बरु यसलाई बिस्तारै पूर्ण स्वास्थ्यतर्फ फर्किने यात्राका रूपमा लिएको उनको भनाइ थियो। आफू फेरि पूर्ण रूपमा स्वस्थ हुनेमा उनी विश्वस्त छन्।

उनले हरेक बिहान पूजा गर्ने समयमा आफ्नो दुई वर्षीय छोरा काखमा बस्ने र आफूले उसलाई हनुमान चालिसा सुनाउने गरेको पनि बताए। विदेशमा बसे पनि आफ्नो संस्कृति र परम्पराबाट टाढा हुन नहुने उनको भनाइ थियो।

प्रधानमन्त्री मोदीले क्याप्टेन स्मितका पिता भूपेन्द्र भाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग आफूले गरेको कुराकानीको पनि उल्लेख गरे। उनले स्मितलाई असल संस्कार दिनमा उनकी आमाको महत्वपूर्ण भूमिका रहेको बताए। मोदीले उनकी पत्नी सोनलबेनको साहस र धैर्यको पनि प्रशंसा गरे।

प्रधानमन्त्रीले सावरकुन्डलासहित भारतका विभिन्न स्थानमा क्याप्टेन स्मितको दीर्घायु र शीघ्र स्वास्थ्यलाभका लागि पूजा तथा प्रार्थना भइरहेको बताए। उनले पूरा भारत क्याप्टेन स्मित स्वस्थ भएर फर्किएको हेर्न प्रतीक्षारत रहेको बताए।

मोदीले क्याप्टेन स्मितको उपचार र हेरचाहमा सहयोग गरेको साउदी अरब र संयुक्त अरब इमिरेट्सका सरकारप्रति पनि आभार व्यक्त गरे। आवश्यक परेको अवस्थामा आफू केवल एक फोनको दूरीमा रहेको उनले बताए।

प्रधानमन्त्रीले भने, ‘तपाईंले वास्तवमै भारतको नाम जोगाउनुभएको छ। तपाईं पूर्ण रूपमा स्वस्थ हुनुहोस्। पूरा देश तपाईंको साथमा छ।’ कुराकानीको अन्त्यमा प्रधानमन्त्री मोदीले क्याप्टेन स्मितलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै उनी पूर्ण रूपमा स्वस्थ भएपछि फेरि भेटेर विस्तृत कुराकानी गर्ने बताए।