काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधकाे निरीक्षण गर्नुभएकाे छ ।
पछिल्लो ८-१२ असाेजकाे भारी वर्षाले खतराकाे सतह पार गरेकाे बाँधकाे वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुग्नुभएकाे थियाे । मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गराउनुभएकाे थियाे ।
मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेकाे र अवस्था सामान्य रहेकाे बताउनुभयाे । भारी वर्षाकाे बेला बाँधमा उच्च निगरानी राखिएकाे र सबै रणनीति अपनाइएकाे बताउनुभयाे । `सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लाे तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएकाे थियाे,´ उहाँले भन्नुभयाे, `आज आएर हेर्दा म्यानेज भएकाे छ । ड्याम स्टेबल छ ।´
`केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो र सम्भावित जोखिमको चिन्ता बढाएको थियो। साथै यसले विद्युत् आपूर्ति व्यवस्थापनमा समेत केही दबाब सिर्जना गरेको थियो। नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो,´ उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयाे, `आज कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्यौं। बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको छ। ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय छ।´
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठले कुलेखानी विद्युत प्रणालीकाे मेरूदण्ड भएकाे बताउनुभयाे । `यसले सिस्टमलाई पिकिङकाे लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ,´ उहाँले भन्नुभयाे, `सिस्टम अपरेटकाे पाेइन्ट अफ भ्युबाट ठूलाे याेगदान रहिआएकाे छ ।´एमडी श्रेष्ठले बाँधकाे अवस्था सामान्य रहेकाे बताउनुभयो ।








