images
images

महाधिवेशन उद्घाटन देउवाबाट गराउने हाम्रो इच्छा हो, के गर्ने भन्ने उहाँको कुरा रह्योः देवराज चालिसे

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशन उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाबाट गराउने इच्छा पार्टीले राखेको बताएका छन्।

शनिबार महाधिवेशनस्थल खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले कांग्रेसको परम्पराअनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापतिले गर्ने भए पनि यसपटक पूर्वसभापति देउवालाई उद्घाटनका लागि आग्रह गरिएको बताए।

पार्टीको आग्रह स्वीकार गर्ने वा नगर्ने भन्ने विषय देउवाको निर्णयमा निर्भर रहने उनको भनाइ छ।

उनले भने, ‘नेपाली कांग्रेसको परम्परामा पार्टीको अधिवेशनको उद्घाटन पार्टी सभापतिले नै गर्ने प्रचलन छ। यद्यपि, यसपटक हाम्रो सोच के हो भने, हाम्रो पूर्वसभापति शेरबहादुर देउवाले गरिदिनुभयो भने हामी सबैले धेरै ठूलो सम्मान अनुभव गर्नेछौँ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गराऔँ भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ। तर अनुरोधलाई के गर्ने भन्ने कुरा उहाँको त्यो व्यक्तिगत कुरा रह्यो।’

महाधिवेशनलाई व्यवस्थित बनाउनको लागि हाल व्यवस्थापनको काम भइरहेको उनले बताए। महाधिवेशनको व्यवस्थापनका क्रममा राष्ट्रिय सभा गृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।

ठूला बसका लागि माइतीघर–भद्रकाली खण्डमा पार्किङको व्यवस्था मिलाइएको उनले बताए। साथै महाधिवेशनको बारेमा जानकारी दिन मिडिया सेन्टर स्थापना गरिएको उनको भनाइ छ। मिडिया सेन्टरबाट दिनमा दुई पटक महाधिवेशनका बारेमा जानकारी गराइनेछ।