images
images

बालाजु उद्योग विकास संघको अध्यक्षमा सुनिल शाक्य सर्वसम्मत नयाँ कार्यसमिति गठन

काठमाडौं – बालाजु उद्योग विकास संघको ४३औँ वार्षिक साधारण सभा तथा २१औँ अधिवेशनबाट सुनिल शाक्य अध्यक्षमा सर्वसम्मत भएका छन्।

अधिवेशनले शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। अधिवेशनमा निवर्तमान अध्यक्ष मातिर रहमान देवानलाई विदाइ गर्दै नवनिर्वाचित अध्यक्ष शाक्यसहित नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

यस अवसरमा बेस्ट बालाजु यूथ क्लबका अध्यक्ष जीवन अधिकारीले नवनिर्वाचित अध्यक्ष शाक्य तथा सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए। बालाजु उद्योग विकास संघले उद्योगी–व्यवसायीको हित संरक्षणसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत विभिन्न गतिविधि गर्दै आएको छ। संघले औद्योगिक परिसरभित्र वृक्षरोपण, रक्तदान तथा विभिन्न सामाजिक एवं जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

संघले बालाजु क्षेत्रका उद्योगी–व्यवसायीका समस्या समाधान, औद्योगिक हित संरक्षण तथा श्रमिक हित प्रवर्द्धनलाई समेत प्राथमिकतामा राख्दै आएको छ। नयाँ कार्यसमितिले आगामी दिनमा उद्योग क्षेत्रको विकास र उद्योगी तथा श्रमिकका साझा हितका विषयमा थप प्रभावकारी ढंगले काम गर्ने अपेक्षा गरिएको छ।