काठमाडौं -नेपाली कांग्रेसका युवा नेता मनिष मिश्रले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मधेश केन्द्रित राजनीतिमा लामो समय सक्रिय रहेका मिश्रले युवा पुस्ताको प्रतिनिधित्व गर्दै सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन्।
सर्लाही निवासी मिश्र पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। गएको फागुन २१ गतेको निर्वाचनको पूर्वार्धमा कांग्रेस प्रवेश गरेका उनले पार्टी सभापति पदका उम्मेदवार गगन थापाको चुनावी अभियानमा कमान्डरको भूमिकासमेत निर्वाह गरेका थिए।
कांग्रेस प्रवेश गर्नुअघि मिश्र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महामन्त्री थिए। लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच एकता प्रक्रिया अघि बढेपछि मिश्र कांग्रेसमा समाहित भएका हुन्।
कांग्रेसमा प्रवेश गरेलगत्तै उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए। अब भने उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
मिश्रले आफ्नो उम्मेदवारीलाई मधेश र युवा पुस्ताको प्रतिनिधित्वसँग जोड्दै पार्टीमा नयाँ पुस्ताको सक्रिय भूमिका र नेतृत्व आवश्यक रहेको बताएका छन्। सहमहामन्त्री पदमा उनको उम्मेदवारीले कांग्रेसभित्र मधेशबाट प्रतिनिधित्व गर्ने युवा नेताहरूको प्रतिस्पर्धालाई समेत थप रोचक बनाउने देखिएको छ।








