काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताएका छन्। लोकतन्त्र, संघीयता, समावेशिता र जनअधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य बलियो बनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौँको खुलामञ्चमा आइतबार सुरु भएको नेपाली काँग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले मुलुकले सामना गरिरहेका आर्थिक, सामाजिक र भू-राजनीतिक चुनौती पार लगाउन राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।
‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन । नेपाली जनताले लोकतन्त्रको कुनैपनि संकुचन स्वीकार गर्ने छैनन्,’ उनले भनेका छन्।
संविधान संशोधनमा काँग्रेसको साथको अपेक्षा
भण्डारीले आवश्यकता र समयअनुसार संविधान संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई थप बलियो, समावेशी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।
संविधान संशोधन र समावेशी राज्य निर्माणका लागि जसपा नेपालले अघि बढाएको अभियानमा काँग्रेसको साथ अपेक्षा गरेको उनले बताएका छन्।
‘लोकतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र जनअधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीचको सहकार्य र एकतालाई अझ मजबुत बनाउन आवश्यक छ,’ उनले भनेका छन्।
आर्थिक चुनौती र सन्तुलित कूटनीतिमा जोड
भण्डारीले प्राकृतिक विपद्, आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवाको विदेश पलायनले मुलुकमा चुनौती थपेको बताएका छन्। उनले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
बदलिँदो संवेदनशील भू-राजनीतिक परिवेशमा राष्ट्रिय हितको रक्षा गर्न नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्ने उनको भनाइ छ। उनले लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनअधिकार खुम्चिन नदिन राजनीतिक दलहरू सचेत रहनुपर्नेमा जोड दिएका छन्।








