images
images

कांग्रेसले अब कार्यशैली बदल्नुपर्छः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुरानो मूल्य र मान्यताको रक्षा गर्दै कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँको खुलामञ्चमा आइतबारबाट सुरु भएको पार्टीको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसको पहिचान केवल चुनाव जित्ने र पद प्राप्त गर्ने खेलमा सीमित हुन नहुने बताए। उनले संगठनलाई जनताको दुःखमा साथ दिने बलियो शक्ति बनाउनुपर्ने उनको भनाइ थियो।

उनले पार्टीको वैचारिक जग बिपी कोइराला र गणेशमान सिंहको त्यागबाट निर्मित भएको स्मरण गराउँदै कांग्रेसको विचार र मूल्यलाई कायमै राखेर काम गर्ने शैली, भाषा, सोच र संस्कृति बदल्नुपर्ने बताए।

उनले संगठनको अर्थ केवल कार्यालय वा अधिवेशन मात्र नभएर जनतासँगको जीवन्त सम्बन्ध भएको प्रस्ट पारे। उनले पार्टीभित्रको सांगठनिक शिथिलतालाई चिर्दै कार्यकर्ताहरूलाई वडा तहसम्म पुगेर जनतासँग एकाकार हुन निर्देशन दिए।

उनले भने, ‘हामी बदलिन आएका छौँ। बदलिनुको अर्थ आफ्नो मूल्य र आत्मा त्याग्नु होइन, बिपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै हाम्रो शैली, भाषा, व्यवहार, सोच, संस्कार र कार्यशैली परिवर्तन गर्नु हो।’