images
images

दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनतामा चरम असन्तुष्टि बढ्योः बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू केवल सरकार बनाउने र ढाल्ने खेलमा मात्र सीमित हुँदा मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसकेको र त्यसैको परिणामस्वरुप जनता तथा युवा पुस्तामा चरम असन्तुष्टि र विद्रोहको भावना चुलिएको बताएका छन्।

आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको असन्तोषलाई ‘विदेशीको षड्यन्त्र’ भन्दै पन्छाउनुको सट्टा राजनीतिक नेतृत्वले आफ्नै असफलताको जिम्मेवारी लिनुपर्ने बताए।

राजनीतिक दलहरू देश र जनताको आर्थिक रूपान्तरणभन्दा पनि निरन्तर सत्ता समीकरणको अङ्कगणितमा अल्झिएका कारण नागरिकमा व्यापक निराशा छाएको उनको भनाइ छ। भट्टराईले मुलुकभित्रका समस्याहरूको दोष अरूलाई थोपर्ने प्रवृत्ति त्यागेर दलहरूले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।

लामो बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तर सुधार्न नसक्नु राजनीतिक नेतृत्वको साझा कमजोरी रहेको उनको भनाइ छ। विश्वका अन्य मुलुकहरूको आर्थिक प्रगतिको उदाहरण दिँदै डा. भट्टराईले आफ्नै जीवनकालमा दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र चीनजस्ता मुलुकहरू ‘ग्लोवल साउथ’ बाट ‘ग्लोवल नर्थ’ अर्थात समृद्ध मुलुकको सूचीमा पुग्न सफल भएको स्मरण गराए।

उनले भने, ‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ। त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो। यसका लागि अरूलाई मात्र दोष दिने होइन, हामीले आफ्नै कमजोरी पनि स्वीकार गर्नुपर्छ।’

नेपालले पनि आगामी १० देखि २० वर्षको स्पष्ट विकास खाका तयार पारेर अघि बढ्नुपर्ने उनको भनाइ छ। डा. भट्टराईले पुराना पुस्ताका नेताहरूले अब नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने समय आइसकेको बताए। नयाँ पुस्ताले देखाएको हिम्मत र अग्रसरता स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले नेपाली कांग्रेसभित्र पनि सार्थक पुस्तान्तरण र वैचारिक स्पष्टता आवश्यक रहेको बताए।