images
images

देशमा जुनसुकै बेला आगो बल्न सक्छ : थापा

काठमाडौँ – कांग्रेसका सभापति गगन थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने विश्लेषण गरेका छन्।

सोमबार खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा सभापति थापाले मुलुकमा दुई तिहाईको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको दाबी गरेका हुन्।

उनले भर्खरै सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको सम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जनुसुकै बेला आगो दन्किन सक्ने चेतावनी दिए। नेपाली समाजमा विद्यमान असन्तोष सम्बोधनतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

‘अहिले मुलुक बाहिरबाट हेर्दैगर्दा शान्त छ । चुनाव भएको छ । सरकार छ, दुई तिहाईको बहुमत छ । प्रतिपक्षी दलहरु पनि छन् । सबै ठिक्क देखिन्छ । तर यस्तो होइन । अस्ति भर्खरै सुनसरीको घटनाले के देखायो ? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ, थापाले अगाडि भने, ‘किनकी नेपाल समाज यति बेचैन छ अहिले, यति ठूलो फ्रस्टेसन छ, यति ठूलो असन्तुष्टि छ । चुनाव भयो नयाँ पार्टी आएको छ, सबै ठिकठाक पनि देखिएको छ । तर यो असन्तुष्टिहरुको कारणहरु सम्बोधन नभएको हुनाले कुनै पनि बेला जनउभार आउनसक्छ ।’

थापाले नेपालका बैंकहरुमा अहिलेको जस्तो पैसा कहिल्यै नथुप्रिएको भन्दै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।

यस्तै थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्ने प्रस्ताव महाविधेशनमा गरेका छन्।

निर्वाचन प्रक्रियाका लागि जुन ठाउँको उम्मेदवार छान्नुपर्ने हो सोही ठाउँका सदस्यले छान्न पाउनुपर्ने उनको प्रस्ताव छ।

पार्टीमा सबैभन्दा बलियो सभापति नभई पार्टी सदस्य हुनुपर्ने गरी पार्टीको अगामी नीति र कार्यदिशा तय गर्नुपर्ने बताए।

‘पार्टीमा सबैभन्दा बलियो सभापति बन्नु हुँदैन । पार्टीको भूइँतहको सदस्य सबैभन्दा बलियो हुनुपर्छ । कांग्रेस भनेको क्रियाशील सदस्यता लिएको मान्छे मात्र होइन । काँग्रेसको सदस्यता नलिएको तर काँग्रेसलाई माया गर्ने मानिसहरुले आफूले चाहेको बेला पार्टीलाई आफ्नो कुरा भन्न पाउनुपर्छ, थापाले अगाडि भने, ‘महाधिवेशन सकिसकेपछि सबैको सदस्यता अद्यावधिक गरौँ । त्यसो गर्दा हामीसँग आठ लाख कार्यकर्ताको रेकर्ड हुन्छ । अब चुनावको उम्मेदवार छान्नको लागि ढ्वाङ थाप्नु पर्दैन।’