ललितपुर– जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बुधवार बस्ने भएको छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण, पार्टी समायोजन, लेवीलगायतका विषयमा छलफल हुने हुने बताइएको छ ।
तीन दिनसम्म चल्ने सो बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीति प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत हुनेछ । दुवै प्रतिवेदनमाथि छलफल हुने पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले बताए ।
लोसपासँग एकीकरण भएपछि केन्द्रीय समितिको समायोजन मात्र भएको प्रदेश, जिल्ला तथा स्थानीय तहमा समायोजन बाँकी छ ।
त्यस्तै भातृ सङ्गठनहरूको समायोजन पनि बाँकी छ । केन्द्रीय समितिले त्यसको पनि टुंगो लगाउने बताइएको छ । साथै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि बाँडफाँड गरिने छ ।








