images
images

काठमाडौँ उपत्यकाको वायु प्रदूषणप्रति उच्च चिन्ता भए पनि आधिकारिक तथ्याङ्कमा नागरिकको पहुँच कमजोर: अध्ययन

काठमाडौँ- काठमाडौँ उपत्यकामा वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित स्थापित गैर-नाफामूलक संस्था ‘ताजा इनिसिएटिभ नेपाल’ ले सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदनले यहाँका बासिन्दामा वायु प्रदूषणप्रति गम्भीर चिन्ता भए तापनि भरपर्दो वायु गुणस्तर जानकारीमा पहुँचको ठूलो अभाव रहेको देखाएको छ।

उपत्यकाका १,२०० बासिन्दामाझ गरिएको उक्त सर्वेक्षण अनुसार ८१.२ प्रतिशत नागरिकले यहाँको हावा स्वास्थ्यका लागि हानिकारक वा अत्यन्त हानिकारक रहेको बताएका छन्। यद्यपि, वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशत मानिस अझै पनि वैज्ञानिक वा आधिकारिक डेटाको साटो आफ्नै ज्ञानेन्द्रिय—जस्तै गन्ध, दृश्यता र आँखाको जलन—मा भर पर्न बाध्य रहेको पाइएको छ।

सर्वेक्षण अनुसार समग्रमा ५२.३ प्रतिशत बासिन्दाले आफ्नो क्षेत्रको वायु गुणस्तर खराबदेखि अति खराब रहेको मूल्याङ्कन गरेका छन्। उपत्यकाका प्रमुख सहरी केन्द्रहरूमा यो नकारात्मक धारणा अझ बढी पाइएको छ, जसमा ललितपुरमा ६०.० प्रतिशत, काठमाडौँमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६.० प्रतिशत नागरिकले स्थानीय वायु गुणस्तरलाई खराब भनेका छन् भने उत्तर काठमाडौँमा यो दर ३५.९ प्रतिशत रहेको छ।

वायु गुणस्तर मापन गर्ने वा जाँच्ने ज्ञान शैक्षिक स्तरसँग प्रत्यक्ष जोडिएको देखिएको छ; प्राथमिक तह वा सोभन्दा कम पढेकाहरूमध्ये १०.८ प्रतिशतलाई मात्र यसबारे जानकारी हुँदा स्नातकोत्तर वा सोभन्दा माथिल्लो शैक्षिक योग्यता भएकाहरूमा यो सङ्ख्या ६३.० प्रतिशत पाइएको छ। यस्तै, वायु गुणस्तर सक्रिय रूपमा ट्र्याक गर्ने १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूमध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने गरेको उल्लेख छ।

प्रदूषणका स्रोतहरूतर्फ हेर्दा ८९.६ प्रतिशत उत्तरदाताले सवारी साधनको धुवाँलाई मुख्य कारकका रूपमा औंल्याएका छन् भने ९४.८ प्रतिशतले सडक निर्माणको धुलोलाई प्रमुख जिम्मेवार मानेका छन्। सरकारले वायु प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासप्रति ७०.० प्रतिशत नागरिकले असन्तुष्टि व्यक्त गरेका छन्।

समस्या समाधानका लागि सार्वजनिक यातायातको विस्तार र विद्युतीय सवारीलाई ७९.९ प्रतिशत तथा कडा धुलो नियन्त्रण र सहरी हरियाली प्रवर्द्धनलाई ७१.५ प्रतिशत नागरिकले समर्थन जनाएका छन्। स्वास्थ्य सुरक्षाका सवालमा ८२.० प्रतिशत नागरिकले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताए पनि ४३.४ प्रतिशतले प्रदूषणबाट जोगिन कुनै पनि व्यक्तिगत उपाय नअपनाएको पाइएको छ।

यसैगरी उपत्यका छाड्ने सोच बनाइरहेका ७.२ प्रतिशत नागरिकमध्ये ३९.१ प्रतिशतले खराब हावालाई मुख्य कारणका रूपमा उल्लेख गरेका छन्।

सर्वेक्षणको निष्कर्ष सार्वजनिक गर्दै ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले उपत्यकामा वायु प्रदूषण बुझ्न विज्ञानभन्दा आफ्नै इन्द्रियमा भर पर्नुपर्ने गम्भीर अवस्था रहेको औंल्याइन्।

दस जनामध्ये ६ जनालाई प्रदूषणको स्तर कसरी जाँच्ने भन्ने थाहा नभएको उल्लेख गर्दै उनले संस्थाले आगामी दिनमा वायु गुणस्तर सम्बन्धी अनुसन्धान, पहुँचयोग्य डेटा प्लेटफर्म र साक्षरता कार्यक्रममार्फत नागरिकलाई तथ्यमा आधारित सुसूचित निर्णय लिन सहयोग पुर्‍याउने बताइन्।