काठमाडौँ – सरकारले श्रम ऐन, २०७४ बमोजिम सम्पूर्ण रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आफ्ना श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विज्ञप्ति जारी गर्दै श्रम ऐनको कार्यान्वयनमा कडाइ गर्ने बताएको छ।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चको रूपमा पाउने व्यवस्था छ। यस कानूनी प्रावधानअनुसार सबै रोजगारदाता तथा प्रतिष्ठानहरूले आफ्ना श्रमिकहरूलाई निर्धारित समयमै चाडपर्व खर्च उपलब्ध गराउनुपर्नेछ।
यदि कुनै पनि रोजगारदाताले यो सुविधा उपलब्ध नगराएमा, सुविधाबाट वञ्चित भएका श्रमिक तथा कामदारहरूले सम्बन्धित कार्यक्षेत्र, कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा सिधै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी वा निवेदन दिन सक्नेछन्।
विभागले कानुनले तोकेको अधिकारबाट श्रमिकलाई वञ्चित नगर्न र यस व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गरेको छ।









