images
images

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभाः १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब नाघ्यो

काठमाडौँ- नबिल बैंकको ४२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार सम्पन्न सभाले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। यसका साथै अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि ८ प्रतिशत लाभांश पारित गरिएको छ।

५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ नाघेको छ, जुन बैंक स्थापनाकालीन पुँजीको तुलनामा ९६० गुणा बढी हो।

समीक्षा आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सो अवधिमा बैंकको वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२.१५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यसैगरी बैंकको कुल वासलातको आकार १५.३८ प्रतिशतले विस्तार भई ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गरिरहेको बताए। उनले ग्राहक, नियमनकारी निकाय, कर्मचारी र शेयरधनीलगायत सम्पूर्ण सरोकारवालाहरूको हित संरक्षण गर्दै सन्तुलित रणनीति अवलम्बन गरिएको स्पष्ट पारे।

सोही सभाले संस्थापक शेयरधनीतर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित समेत गरेको छ।

हाल देशभर २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले आगामी दिनमा प्रविधिमैत्री रणनीतिलाई तीव्रता दिने जनाएको छ। दिगो बैंकिङ तथा ‘एनबैंक’ जस्ता डिजिटल सेवा विस्तार गर्दै आएको नबिल बैंकले सन् २०३० सम्म ‘एआई रेडी बैंक’ बन्ने दीर्घकालीन लक्ष्य लिएको छ।

यसका लागि बैंकले ‘पञ्चतत्व’ का रूपमा विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि र रूपान्तरण गरी पाँच ‘टी’ को अवधारणा अघि सारेको छ।