काठमाडौं— मोबाइल फोन इम्पोर्टर्स एशोसिएसन (MPIA) को दशौं वार्षिक साधारण सभाबाट दिपक कुमार मलहोत्राको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
राजधानीमा सम्पन्न उक्त साधारण सभाले संस्थाको नेतृत्वका लागि नयाँ सञ्चालक समितिलाई सर्वसम्मत अनुमोदन गरेको हो।
सभाको उद्घाटन सत्रमा अध्यक्ष मलहोत्राले सहभागी पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरेका थिए भने उपाध्यक्ष सञ्जय अग्रवालले वार्षिक कार्यप्रगति तथा कोषाध्यक्ष प्रभाकर शम्शेर थापाले आय–व्यय विवरण प्रस्तुत गरेका थिए।
छलफलका क्रममा सदस्यहरूले संस्थाको कार्यसम्पादन, व्यवसायका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या र आगामी कार्यदिशाका विषयमा महत्त्वपूर्ण सुझाव राखेका थिए।
साधारण सभाबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा र कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सञ्चालक सदस्यहरूमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा रहेका छन्।
नवनिर्वाचित अध्यक्ष दिपक कुमार मलहोत्राले मोबाइल व्यवसायलाई मर्यादित, पारदर्शी र उत्तरदायी बनाउँदै व्यवसायीका समस्या समाधानका लागि सरकारी निकायहरूसँग प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उपाध्यक्ष सञ्जय अग्रवालले अवैध पैठारी (ग्रे मार्केट) नियन्त्रण, MDMS प्रणालीको प्रभावकारी प्रवर्द्धन, वितरण प्रणाली सुधार तथा उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताए।








