काठमाडौँ- नेपालको स्पा तथा वेलनेस क्षेत्रलाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै आएको ट्रान्क्विलिटी स्पाले विश्वप्रसिद्ध इन्टरनेसनल स्पा एसोसिएसन (ISPA) को सदस्यता प्राप्त गरेको छ।
नेपालभर करिब २० वटा आउटलेटमार्फत सेवा दिँदै आएको यो संस्था ISPA को सदस्यता पाउने नेपालको पहिलो र एकमात्र स्पा बनेको छ। यस उपलब्धिलाई कम्पनीले आफ्नो व्यवसायका साथै समग्र नेपाली वेलनेस उद्योगकै लागि ऐतिहासिक र गौरवपूर्ण क्षणका रूपमा लिएको छ।
विश्वभरका स्पा तथा वेलनेस व्यवसायी, विशेषज्ञ र संस्थाहरूको सञ्जाल रहेको ISPA को सदस्यतासँगै ट्रान्क्विलिटी स्पालाई विश्वस्तरीय अभ्यास, नवीनतम प्रविधि, मापदण्ड र अनुसन्धानसँग प्रत्यक्ष जोडिने अवसर मिलेको छ।
संस्थाले आफ्ना सेवा तथा सञ्चालन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निरन्तर परिमार्जन गर्ने, कामदार तथा साझेदारहरूलाई उच्चस्तरीय तालिम उपलब्ध गराउने र विश्वबजारसँगको सहकार्यलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ।
ट्रान्क्विलिटी स्पाका कार्यकारी निर्देशक सुरेश पुरीले अन्तर्राष्ट्रिय स्तरमा सिकेका ज्ञान, सीप र अनुभवलाई स्वदेश भित्र्याएर नेपाली स्पा उद्योगलाई थप मर्यादित र व्यावसायिक बनाउन यो सहकार्य कोसेढुङ्गा साबित हुने बताएका छन्।
सरकारले सन् २०२७ लाई ‘वेलनेस वर्ष’ घोषणा गरेको पृष्ठभूमिमा यस प्रकारको अन्तर्राष्ट्रिय आबद्धताले नेपालमा वेलनेस पर्यटन प्रवर्द्धन गर्न, दक्ष जनशक्ति उत्पादन गर्न र उद्योगलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।








