images
images

हवाई भाडासम्बन्धी भ्रामक प्रचारप्रति बुद्ध एयरको आपत्ति, तोकिएभन्दा बढी भाडा लिए कारबाही गर्ने चेतावनी

काठमाडौँ- निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोसप र एआई प्रयोग गरी हवाई भाडादरबारे भ्रामक सूचना फैलाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै गलत स्क्रिनसट र अपुष्ट सामग्रीका आधारमा सिर्जना गरिएको भ्रममा नपर्न यात्रुहरूलाई आग्रह गरेको छ। विशेषगरी धनगढी उडानको एकतर्फी भाडा १० हजार ८०० रुपैयाँमै उपलब्ध गराइरहेको स्पष्ट पार्दै बुद्ध एयरले न्यूनतम दरमै टिकट बिक्री गरिएकाले अधिकांश दिनका उडान ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएको छ।

रसुवा क्षेत्रमा आएको भीषण बाढी-पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि उत्पन्न विपद्को समयमा यात्रुहरूलाई राहत दिन न्यूनतम भाडादर कायम गरिएको कम्पनीले जनाएको छ। सडक सञ्जाल सामान्य नहुन्जेल तथा आसन्न दसैँ र तिहारसम्म सहुलियत दरमै सेवा दिने प्रतिबद्धता अनुसार नै उडानहरू सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ।

यसबाहेक, आधिकारिक माध्यमबाट तोकिएको भाडादरभन्दा बढी रकम असुलेर टिकट बिक्री गर्ने कुनै पनि व्यक्ति वा ट्राभल एजेन्सीलाई प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने चेतावनीसमेत बुद्ध एयरले दिएको छ।

हाल काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक रहेको तर काठमाडौं भित्रिने यात्रुको संख्या कम रहेकाले कम्पनीले राजधानी आउने यात्रुहरूका लागि प्रोमो कोलमार्फत विशेष छुट अफर ल्याएको छ। उक्त अफर कम्पनीको वेबसाइट तथा मोबाइल एपबाट सजिलै लिन सकिनेछ।

विपद्को यस कठिन घडीमा सुरक्षित, सहज र किफायती सेवा दिन आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै बुद्ध एयरले सामाजिक सञ्जालका भ्रामक सामग्रीको पछि नलागी आधिकारिक वेबसाइट र एपबाट मात्र भाडादर तथा टिकटसम्बन्धी जानकारी लिन सर्वसाधारणसँग अनुरोध गरेको छ।