images
images

काठमाडौँका ६ स्थानबाट ग्यास बिक्री गरिँदै, सिलिन्डर पनि साट्न पाइने

काठमाडौँ – नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँका विभिन्न ६ स्थानबाट ग्यास बिक्री गर्ने भएको छ।

चाडबाडको समयमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन र सिलिण्डर सट्टापट्टामा देखिएको समस्या समाधान गर्न असोज २५ गतेदेखि असोज ३१ गतेसम्म ग्यास बिक्री तथा साटफेर गर्न लागिएको संघले जनाएको छ।

काठमाडौँको सिफलचौरबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलंकीबाट साइबाबा र श्रीकृष्ण र ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री वितरण गरिने संघले जानकारी दिएको छ। बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री गरिने छ।

संघका अनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहजरूपमा भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६ सय ६१ सिलिण्डर ग्यास बिक्री वितरण भइसकेको छ।

उपत्यकामा समग्रमा ग्यासको आपूर्ति सहज बन्दै गए पनि चाडपर्वका बेला केही उपभोक्ताले सहजरूपमा ग्यास नपाएको र एक-अर्का ब्रान्डका सिलिण्डर साट्न नपाएको गुनासो गरेपछि यो कदम चालेको संघको भनाइ छ।

ती स्थानहरूमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने ग्यास सिलिण्डर मात्र साटफेर गरिनेछ। संघका अनुसार तोकिएका यी बिक्री केन्द्रबाहेक अन्य स्थानबाट सिलिण्डर सट्टापट्टा गरिने छैन।