काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन्। उनले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए।
नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ। यसअघि नै परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेण्डा तय गरिरहेको जनाएको छ।
उनले भने, ‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्युको भ्रमण हुने नै छ। उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ। भ्रमणको मिति तय भइसकेको छैन। मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ।’
परराष्ट्र मन्त्रालयले अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेण्डामाथि काम गरिरहेकोसमेत उनले जानकारी दिए।








