images
images

नेपाली ब्रान्ड विकासमा कानूनी सुधारदेखि विश्व बजारसम्म ध्यान दिनुपर्छ: कार्यवाहक अध्यक्ष मल्होत्रा

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको उनले बताए ।

‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानमूलक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपालमा नेपाली वस्तुको ब्रान्डिङ कमजोर रहेको र कतिपय अवस्थामा बजारमा नक्कली ब्रान्डसमेत बिक्री भइरहेको उल्लेख गरे ।

नेपालमा धेरै सम्भावना भएका छुर्पी, बेसार र अलैंचीजस्ता वस्तुहरूको समेत प्रभावकारी ब्रान्डिङ हुन नसकेको उनले औंल्याए ।

ब्रान्डिङका क्षेत्रमा विद्यमान कानूनी समस्या समाधान गर्न उपयुक्त कानून बनाई त्यसलाई छिटोभन्दा छिटो प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले नेपाली ब्रान्ड कुनै वस्तु वा सेवाको नाम मात्र नभई उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको आर्थिक पहिचानसँग जोडिएको विषय भएको स्पष्ट पारे ।

मल्होत्राका अनुसार नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन बढाउनु मात्र पर्याप्त हुँदैन ।

उत्पादनसँगै ब्रान्डिङ, गुणस्तर, बजार विस्तार र उपभोक्ताको विश्वास आर्जनमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहिचान अपेक्षाकृत कमजोर रहेकाले ‘मेड इन नेपाल’ लाई विश्व बजारमा बलियो पहिचान दिलाउन सरकार, निजी क्षेत्र र सञ्चार जगत्‌बीच सहकार्य आवश्यक रहेको उनले बताए ।

नेपाली ब्रान्डलाई घरेलु बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सरकारले स्थिर नीति, सहज व्यावसायिक वातावरण, लगानीमैत्री कानून, पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने बताए ।

त्यसैगरी, निजी क्षेत्रले गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने तथा सञ्चार क्षेत्रले नेपाली उत्पादन र उद्यमशीलताका सकारात्मक सन्देश स्वदेश तथा विदेशमा पुर्‍याउन भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।

स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली ब्रान्डको पहिचानलाई प्राथमिकतामा राखी अध्ययन प्रतिवेदन तयार पारेकोमा उनले कर्पोरेट नेपाललाई धन्यवाद दिए ।

यो प्रतिवेदनले नेपाली ब्रान्डको वर्तमान अवस्था, चुनौती र सम्भावना बुझ्न तथा आगामी दिनमा नीति निर्माण र व्यावसायिक रणनीति तय गर्न महत्त्वपूर्ण आधार दिने विश्वास उनले व्यक्त गरे ।

नेपाली उत्पादनलाई विश्व बजारमा गर्वका साथ स्थापित गर्न सबै पक्ष एकजुट हुनुपर्ने र यसबाट मुलुकको उत्पादन, रोजगारी, निर्यात तथा समग्र अर्थतन्त्र बलियो हुने उनले बताए ।