ललितपुर – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन्।
पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले प्राप्त जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए।
उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै काम गर्ने शैली, जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताए। उनले सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
थापाले नागरिक र कांग्रेसबीचको विश्वास कमजोर भएको उल्लेख गर्दै किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले भरोसा गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिए। कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनःपार्टीसँग जोड्ने र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउन काम गर्ने शैलीमै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गरी सुझाव दिन एक साताको समय उपलब्ध गराइएको जानकारी दिँदै उनले सबैको सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए।







