images
images

शंकर पोखरेलसँग कुनै मनमुटाव छैनः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेतृत्व तहमा कुनै पनि प्रकारको मनमुटाव नरहेको दाबी गरेका हुन्।

पछिल्ला केही दिनयता एमाले वृत्तमा ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजीहरू भइरहेका थिए। बैठक कक्षबाट बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले ती हल्लाहरूमा ‘रत्तिभर सत्यता नरहेको’ दाबी गरे।

उनले भने, ‘बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो। तर, यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन। फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन। राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन।’