गोरखा –गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा आएको बूढीगण्डकी नदीको बाढी आरुघाट बजारसम्म पुगेको छ। बाढीको जोखिम बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउँदै आरुघाट बजार खाली गराएको छ।
प्रहरीले सम्भावित जोखिमबाट बच्न स्थानीय बासिन्दालाई सचेत गराउन माइकिङ गरिरहेको छ। नदीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
यसअघि बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको थियो। गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको छ। त्यस्तै, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुगेको छ।
उपाध्यक्ष गुरुङले चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्याएको जानकारी दिएकी छन्। उनका अनुसार आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए।
बाढी आरुघाटसम्म पुगेपछि नदी आसपासका बस्तीमा थप जोखिम बढेको छ। सम्भावित विपद्बाट जोगिन स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षाकर्मीको निर्देशनअनुसार सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।







