काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा ६ हजार मतगणना हुँदा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
उपसभापति (खुला) तर्फ डा. भण्डारीले ३ हजार १०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९२० मत पाएका छन्। गोविन्द भट्टराईले १ हजार ५६६, सुरेन्द्रराज पाण्डेले १ हजार ४४२ र धनराज गुरुङले १ हजार ३७९ मत प्राप्त गरेका छन्।
यसैगरी दीपक गिरीले ७९१ र प्रा.डा. चन्द्रमोहन यादवले ५७१ मत पाएका छन्।
उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले १ हजार ४८६ मतसहित अग्रता लिएका छन्। जीवन परियारले १ हजार ४१२, सीता गुरुङले ९५०, फरमुल्लाह मंसुरले ८५८ र रञ्जित कर्णले ४६५ मत प्राप्त गरेका छन्।
महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले ३ हजार ४९४ मतसहित अग्रता फराकिलो बनाएका छन्। उदयशमशेर राणाले १ हजार ९५६ र डा. सुनिलकुमार शर्माले १ हजार ८८७ मत पाएका छन्।
त्यस्तै गुरुराज घिमिरेले १ हजार २३१, अमरसिंह पुन मगरले १ हजार ३८, नैनसिंह महरले ९२८, शंकर तिवारीले ११२ र डा. सन्तोष उपाध्यायले ८६ मत प्राप्त गरेका छन्।
महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले २ हजार ६०९ मतसहित अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ४४२ र रीता खनालले ६१५ मत प्राप्त गरेकी छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।








