images
images

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, त्यसको सिस्टम हुन्छः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रकियाअनुसार हुँदै जाने बताएका छन्।

पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागि निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने  बताएका हुन्। उनले नयाँ पुस्तालाई तालिम, क्षमता विकासमार्फत क्रमशः नेतृत्वका लागि तयार गनुपर्ने बताए। तर, अहिले समाजमा पुस्तान्तरणको नाममा विभाजन गर्ने प्रयास भइरहेको उनको आरोप छ।

उनले समाजमा जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न नसकेर हाल बाबु–छोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको बताए। नयाँ पुस्ताले पुरानो पुस्तालाई तत्काल जिम्मेवारी छाड्न दबाब दिनु अनुचित भएको उनको दाबी छ।

नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजाने उल्लेख गर्दै उनले नेतृत्व हस्तान्तरणका लागि आवश्यक तयारी र अनुभव हासिल गर्न समय लाग्ने बताए। आफ्नो राजनीतिक जीवनको सुरुवाती समय स्मरण गर्दै उनले आफूहरू सानै उमेरमा नेतृत्व तहमा पुगेको बताए।

तर, तत्कालीन नेतृत्वको उमेरलाई अहिलेको पुस्तासँग तुलना गर्न नमिल्ने उनको जिकिर छ। अहिले १९ वर्षको मान्छेले पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुने उनको भनाइ छ।

उनले कुनै व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएपछि नेतृत्वबाट आफै हट्ने बताए। हाल पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पुस्तान्तरणलगायतका अनेक झमेलामा नपर्न कार्यकर्तालाई आग्रह गरे।

उनले भने, ‘पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ। तर, त्यसको सिस्टम हुन्छ। त्यसको प्रक्रिया हुन्छ। त्यसको सिलसिला हुन्छ। त्यसो भएर हाम्रो नयाँ पुस्तालाई हामीले योग्य, दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै, ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ। अलिकति टाइम लाग्छ।’