काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको बताएका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै तीन दिनअघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताएका हुन्।
उनका अनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी गर्ने प्रणालीलाई समेत थप दिगो बनाउने काम अघि बढाइएको छ। मन्त्री श्रेष्ठले प्रशान्त महासागरमा विकसित भइरहेको ‘सुपर एल निनो’को सम्भावित प्रभावबारे पनि मन्त्रालयले जिम्मेवारी सम्हालेको सुरुवाती चरणमै अध्ययन गरी त्यसको प्रभावबारे व्याख्या गरिएको बताए।
जलवायु परिवर्तनसँगै वर्षाको स्वरूपमा समेत परिवर्तन देखिन थालेकाले पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन आवश्यक रहेको बताउँदै विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताए। उनका अनुसार पूर्वसूचनासँगै स्थानीय तहसम्म जनचेतना अभिवृद्धि, विपद् पूर्वाअभ्यास र सूचना प्राप्त भएपछि अपनाउनुपर्ने प्रक्रियासमेत स्पष्ट हुन आवश्यक छ।
मन्त्री श्रेष्ठले पछिल्ला बाढी तथा पहिरोका घटनामा नदीको जलस्तर मापन र निगरानीका लागि राखिएका केही उपकरणसमेत बगेकाले आगामी दिनमा थप दिगो प्रविधि प्रयोग गर्नुपर्ने बताए। रसुवा बाढीमा टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा राखिएका संरचना बगाएको उल्लेख गर्दै उनले जोखिमयुक्त स्थानमा उपकरण जडान गर्दा त्यसको दिगोपनालाई समेत ध्यान दिनुपर्ने बताए।
यद्यपि, केही तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीले प्रभावकारी रूपमा काम गरेको उनले बताए। मजुवा बस्ती, भरतपुर र सुस्तालगायतका क्षेत्रमा पूर्वसूचनाले सम्भावित जोखिमबारे समयमै जानकारी गराउन सहयोग पुगेको उनको भनाइ छ।
श्रेष्ठका अनुसार जापानमा भूकम्पलगायत विपद्का लागि नियमित पूर्वअभ्यास गरिएझैँ नेपालमा पनि स्थानीय तहसम्म विपद् पूर्वअभ्यासको संस्कार विकास गर्नुपछ। २०७२ सालको भूकम्प, मेलम्चीलगायतका बाढी तथा पछिल्ला वर्षहरूमा देखिएका असामान्य वर्षाका घटनाले विपद्पूर्व तयारीलाई नियमित अभ्यासका रूपमा अघि बढाउनुपर्ने देखाएको उनले बताए।








