काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी रहेको बताएका छन्।
पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले पार्टीमाथि भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए। विगत केही वर्ष अगाडिदेखि नै एमालेमाथि घेराबन्दी हुँदै आएको उनको भनाइ छ।
आगामी निर्वाचनमा पनि एमालको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने उनले बताए। एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी सुरु हुन लागेको उनको आरोप छ।
२०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको उनले बताए। २०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको भनाइ छ। त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताए।
उनले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाए। उनले पार्टीभित्रकै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको बताए।
उनले भने, ‘हाम्रोअगाडि निर्वाचन आउँदै छ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामीविरुद्धको घेराबन्दी सिद्धिएको छैन। यो एकदमै चालु छ अहिले पनि। घेराबन्दी चालु छ।’
उनले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाए। नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उनको दाबी छ।








