काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशन सञ्चालनका क्रममा काठमाडौंको खुलामञ्चमा कुनै किसिमको क्षति भए त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै मर्मतसम्भार गर्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो ।
१५औँ महाधिवेशन प्रयोजनका लागि असोज १४ देखि २३ गतेसम्म खुलामञ्च बुकिङ गरिएको जनाउँदै कांग्रेसले महाधिवेशन सञ्चालनका क्रममा खुलामञ्च परिसरमा कुनै किसिमको क्षति भए त्यसको पूर्ति गर्ने जनाएको छ ।
महाधिवेशनजस्तो महत्त्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल र व्यवस्थित आयोजनाका लागि महानगरपालिकाबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत कांग्रेसले व्यक्त गरेको छ ।









